शनिबार, जेठ ५, २०८१

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

नेपालखोज २०७७ फागुन ७ गते १५:२५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता परियार गत वर्ष प्रदेश प्रमुखमा नियुक्त भएका थिए । दुई पटक सांसद् भएका परियार प्रदेश नं २ का प्रदेश प्रमुखमा १८ कात्तिक २०७६ मा प्रदेश प्रमुखमा नियुक्त भएका थिए । परियारको स्थायी बसोबास कोहलपुर नगरपालिका–१२ निबुवामा छ ।

रोल्पाबाट शुरुमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौनामा बसाइँ सराई गरेका परियार विसं २०५० पछि कोहलपुर आएका थिए ।

परियार बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेता हुन् । तत्कालीन माओवादीका सचिवालय सदस्यसम्म भएका परियार गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सिट दिँदा सांसदमा परेका थिए ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट परियार विजयी भएका थिए । तत्कालीन नेकपा माओवादी विभाजन हुँदा शुरुमा मोहन वैद्यको पार्टीमा लागेका परियार पछि विप्लव समूह हुँदै माओवादी केन्द्रमै फर्किएका थिए ।

शिक्षामा स्नातक उत्तीर्ण परियार विगतमा शिक्षकसमेत भएका थिए । भारतमा काम गर्दै पढ्दै गरेका उनि एसएलसी उत्तीर्ण गरेपछि रोल्पा फर्केका थिए । उनि केही समय रोल्पामा शिक्षक पनि भएका थिए । उनले भूमि सुधार कार्यालयमा खरिदारको कामसमेत गरेका थिए ।

प्रतिक्रिया