बिहीबार, जेठ १०, २०८१

नयाँ सहर निर्माणका लागि बजेट अभाव हुँदा काम भएन : मन्त्री झाँक्री

नेपालखोज २०७८ फागुन २८ गते १३:१९

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ सहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन् । समाजवादी संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन् ।

मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ सहर निर्माण हुन नसक्ने बताउँदै नयाँ सहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन् । उनले भनिन् ‘पछिल्लो पटक ग्रामीण क्षेत्रबाट सहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण सहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ । ग्रामीण सहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ ।’

मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ सहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गतिलिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र असिमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘आयोजना स्वचालित ढङगाले नभई आवश्यकता र प्राथमिकीकरणको आधारमा छनोट हुने प्रणालीको स्थापना गर्नु जरुरी छ ।’

प्रतिक्रिया