आइतबार, जेठ ६, २०८१

ज्योतिषीय पेरिफेरीकाे भूमरीमा राजनीति

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ फागुन ८ गते ८:५०

नेपालमा प्रधानमन्त्रीले ज्योतिषीसँग साइत देखाएर मात्र सपथ ग्रहण गर्दछन् । हिजोका दिनमा पनि साइत जुराएर प्रधानमन्त्रीले सपथ खान्थे । के कम्युनिष्ट के कांग्रेस कसैले पनि ज्योतिषीले साइत नजुराई प्रधानमन्त्रीको कुर्सीमा बस्ने आँट गरेका छैनन् । राजा तथा राणाहरुको पालामा पनि यो कार्य गरिन्थ्यो । राष्ट्रले दुई वटा राष्ट्रपति पाइसकेको छ । दुबै राष्ट्रपतिले ज्योतिषीले जुराएको उत्तम मानिएको समयमा पदभार ग्रहण गरेका हुन् । विकास निर्माणको काममा पनि ज्योतिषीले जुराएको समयमा शिलान्यास गरिन्छ तर साइत जति राम्रो जुराए पनि देशको अवस्था ज्यूँका त्यूँ नै छ । शिलान्यास गरुन्जेल साइत ठीक हुन्छ तर त्यसपछि देशको दुरावस्था सुरु हुन्छ । खराब व्यक्तिको लागि जतिसुकै राम्रो साइत जुरे पनि त्यसले खराबै काम गर्ने रहेछ भन्ने कुरा हामीले बिर्सन हुँदैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पेश गरेको बलात्कार सम्बन्धि मुद्दाको अध्यादेश १४ दिनसम्म कुरेर बिचार गरीकन ज्योतिषीय घडीपलाको उत्तम साइतमा जारी गरिन् । बलात्कार यदाकदा पुरुषमाथि पनि हुने भए तापनि ज्यादाजसो नारीमाथि हुने गर्दछ । मुलुकको राष्ट्रपति नारी छिन् तर बलात्कार सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई १४ दिन लाग्नु लज्जाको विषय हो । राष्ट्रपतिले ज्योतिषीलाई साइत देखाएर अत्युत्तम बार नक्षत्रमा अध्यादेश जारी गर्दागर्दै देशमा पाँच सातवटा बलात्कारका घटना घटिसक्छन् । नारीका समस्या, र अधिकारकी हिमायती राष्ट्रपतिले सरकारले बलात्कारीको लागि कडा सजाय दिने कानुन ल्याउँदा छिटोछिटो जारी गरिदिनुपर्नेमा ज्योतिषीलाई साइत हेराएर बस्नु निर्लज्जताको पराकाष्ठा हो । कानुन जारीको समय उत्तम रहे पनि परिपालनाको समय भने उत्तम हुँदैन । परिपालनाको समय पनि उत्तम हुने किसिमको साइत जुराइदिएको भए ज्योतिषीको के जान्थ्यो र ? मुलुकको राष्ट्रपतिको ज्योतिषीय विश्वासलाई हामीले निन्दा गर्न पनि भएन । कानुन जारी हुँदाहुँदै च्यातिन्छ कि भन्ने डरले पनि होला राष्ट्रपतिले चौध दिनपछिको अत्युत्तम समयमा त्यसरी अध्यादेश जारी गर्नुपरेको । ज्योतिषीले दिएको उत्तम समय हुनाले नै बलात्कार सम्बधि अध्यादेश च्यातिएन । नभए अरु अध्यादेश त सबैजसो विवादित नै छ । तिनले पहिले पहिले अध्यादेश जारी गर्दा साइत जुराउन भुलिछन् कि ?

परन्तु त्यही राष्ट्रपति कार्यालय हो जसले ज्योतिषीलाई नदेखाई प्रतिनिधि सभा विघटनसम्बन्धि सरकारको असंवैधानिक सिफारिस झटपट जारी गर्यो र आज मुलुकले यो समस्या भोग्दैछ । संसद विघटनको मुद्दालाई केहिबेर ज्योतिषीलाई देखाएर जाँचपड्ताल गरेर पारित गरिन्थ्यो भने मुलुकले आज यो राजनैतिक दुख व्यहोर्नु पर्दैनथ्यो । केही घण्टामै ओलीतन्त्रको मतियार रहन चाहने राष्ट्रपतिले राजनीतिक तथा नागरिक तहमा बृहत् छलफल तथा विमर्शका लागि योग्य त ठानिनन् नै, त्यतिबेला त ज्योतिषीलाई देखाएर साइत निकाल्न जरुरी पनि ठानिनन् । नागरिक र राजनैतिक विमर्शलाई अनुचितै ठानिन्थ्यो भने पनि कदाचित् सँधै विश्वास गरिएको ज्योतिषीलाई देखाइन्थ्यो भने मुलुकले आज भोगिरहेको अस्थिरता भोग्न पर्दैनथ्यो । दुई घण्टामै अध्यादेश जारी गरेर राष्ट्रपतिले ज्योतिषीय परम्पराको धज्जी उडाइन् । एक मिनेटमा पास गर्नुपर्ने बलात्कारसम्बन्धी अध्यादेश भने दुई हप्तामा पारित गरिन् । राष्ट्रपतिको ज्योतिषीय विश्वास संसद् विघटन गर्दा डगमगायो नि त हनुमान् जी, त्यसैले त मुलुक मुडभेडतिर गएको ।

अर्कोतर्फ राष्ट्रपतिले ज्योतिषीलाई देखाईकन १४ दिन लगाएर अध्यादेश पारित गर्दा पनि निर्मला र भागीरथीका हत्याराहरुले दण्ड पाउलान् भनेर विश्वास गर्न गाह्रै छ । न्याय त किनबेच हुने कुरा हो । पसलमा जसरी चाउचाउ बेचिन्छ त्यसरी नै काला कोटधारी वकिल नामका पसलेले न्यायको मूल्य निर्धारण गरी बेच्छन् । यो देशको वास्तविक न्यायको स्वरुप हो । तब महामहिमज्यूले ज्योतिषीले निकालिदिएको १४ दिनपछिको साइतमा बलात्कारसम्बन्धी अध्यादेश जारी गर्दा केहि हदसम्म कानुनको पालना होला कि भनेर सोच्नु अनुचित होइन । जति राम्रो साइतमा अध्यादेश पारित गरे पनि किन मुलुक सिस्टममा कुदिरहेको छ त ? के ज्योतिषीले दिएको साइत नै गलत थियो त ? वकिलका पसलमा न्याय बेचिँदैन थियो भने बलात्कारीलाई अवश्य नै दण्ड मिल्दथ्यो । त्यसका लागि राजारङ्क सबैलाई एकै हुने सिस्टम चाहिन्छ न कि ज्योतिषीलाई देखाएर अध्यादेश जारी गर्दा न्याय बलियो हुन्छ ।

ज्योतिषीय यी उपक्रममा नौ नौ महिने सरकारहरु सामेल थिए । साइत कति राम्रो थियो भन्ने कुरा त्यसैबाट बुझिन्छ । नौ महिनाभन्दा बढी टिक्नै नसक्ने अस्थीर सरकारको साइत जुराउने ज्योतिषी अवश्य पनि दिग्गज हुनुपर्दछ । मुलुक पद्धतिमा चल्न ज्योतिषीको साइत महत्वपूर्ण हुनुपथ्र्यो कि व्यक्तिहरुको चरित्र ठिक हुनुपथ्र्यो यसको हिसाबकिताब कसले माग्ने ? अलिक बलियो ग्रहगोचर देखिएका व्यक्तिको महत्वकांक्षालाई सही समय देखाइदिएर सत्ता ढाल्नेसम्मका सल्लाह दिने ज्योतिषी मित्रहरुले त्यस्तो सल्लाह दिँदा मुलुकले भोग्ने समस्यालाई नजरअन्दाज गर्लान् कि नगर्लान् ? यो प्रश्नले मलाई घचघच्याई रहन्छ ।

ज्योतिष विद्यालाई आँखाको रुपमा व्वयाख्या गर्ने गरिन्छ । आँखाको काम हेर्नु हो । ज्योतिष विद्याले लोकलाई अग्रिम हेर्न सक्ने आँखा दिन्छ । त्यस्तो अग्रिम दृष्टि दिने आँखावाला विद्या पढेकाहरुले नेताका भविष्य हेर्नुको साटो मुलुकको भविष्य हेरिदिए कति रोचक हुन्थ्यो ? हुन त ज्योतिषी गर्नेहरुलाई मुलुकको बाल मतलब दानदक्षिणा दिने त नेताले हो । पैसा टन्न भएका पनि तिनै हुन् । व्यापारीसँग भन्दा धेरै पैसा नेतासँग नै हुन्छ । तिनको कुण्डलीको भविष्य बताउँदा राम्रो दानदक्षिणा प्राप्त हुने भएपछि जनताको अपराधी नै भए पनि तिनैको चाकरी गर्नु ज्योतिषीको धर्म हुन गएको छ । यो भाग्यहीन मुलुक कति समयसम्म ज्योतिषीको दुश्चक्रमा फस्ने हो त्यसको बारे पनि थोरै जानकारी ज्योतिषीले दिए भने कृतार्थ भइन्थ्यो ।

प्रतिक्रिया