प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु गलत : मोहनविक्रम सिंह

नेपालखोज २०७७ फागुन १० गते १४:३७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गरेको बताएका छन् ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले सो कुरा बताएका हुन् ।

छ दशकसम्म लडेर बनाइएको संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्ने उनले बताए ।

नेकपा विवाद सो दलमा मात्र सिमित नभएको बताउँदै महामन्त्री सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा सर पर्ने बताए ।

‘यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन् । नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा प¥यो,’ उनले भने । धर्मनिरपेक्षता हटाउन र एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ छ ।

साथै संघीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने उनले संकेत गरे ।

प्रतिक्रिया