नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग हुने
काठमाडौं । नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग एनएसएल आगामी बैशाखमहिनाबाट सुरु हुने भएको छ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलनमा बताइए अनुसार नेपाल सुपर लिग ११ वैशाखदेखि हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो प्रतियोगिता २५ वैशाखसम्ममा आयोजना गरिने नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न ७ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । त्यसका लागि टिम र टिम मालिकको नाम भने दुई साताभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा सहभागी हुने टोलीले स्वदेशी र विदेशी खेलाडी राख्न पाउनेछन् । टोलीमा खेलाडी समावेश गर्न खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने दुई खेलाडी प्लेईङ सेटमा रहेर खेल्न पाउने आयोजकले जनाएको छ ।
खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्टाइने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया