त्रिभुवन विमानस्थल चैत १५ देखि १८ घण्टा मात्रै खुल्ने
काठमाडौं । चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २८ मार्च अर्थात् चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले विमानस्थल बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको छ । अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुनेछ । विमान र यात्रुको सङ्ख्या कम भएको, कोरोनाका कारण आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेकाले विमानस्थल सञ्चालनको अवधि घटाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
दिउँसो विमानस्थल खाली हुने र चार वटा एअरलाइन्सको उडानका लागि बिहान तीन बजेसम्म विमानस्थल खोल्नुपर्ने अवस्थाको अन्त्य गरिएको उनले बताए। २८ मार्चदेखि गृष्मकालीन उडान तालिका कार्यान्वयनमा आएसँगै विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने तिवारीको भनाइ छ ।
प्रतिक्रिया