संसद् पुनर्स्थापनापछि आगामी रणनीतिबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटन बदर गरेपछि पार्टीको आगामी भूमिकाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजेका लागि पदाधिकारी बैठक आह्वान गरेका हुन् ।
बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा संसद् पुनर्स्थापनापछि कांग्रेसको आगामी रणनीति, विकसित राजनीतिक घटनाक्रम, नेकपा प्रचण्ड–नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।
यसअघि हिजो दिउँसो सभापति देउवासँग नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बूढानीलकण्ठस्थित निवासमै पुगेर छलफल गरेका थिए । छलफलमा प्रचण्ड र नेपालले मिलेर अघि बढ्ने प्रस्ताव देउवालाई गरेका थिए । तर, सभापति देउवाले पार्टीभित्र छलफल गरेर आफू निर्णयमा पुग्ने जवाफ प्रचण्ड–नेपाललाई दिएका थिए ।
पदाधिकारी बैठकपछि संसदमा आफ्नो भूमिका तय गर्न कांग्रेसले संसदीय दल बैठक पनि बोलाउने भएको छ । नेकपा दुई समूहमा विभाजित भएको अवस्थामा अविश्वास प्रस्तावदेखि नयाँ सरकार निर्माणसम्म कांग्रेसको आगामी भूमिकालाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया