कमलपोखरी निर्माणमा पुरातत्त्व विभागकै कारण विवाद उत्पन्न भएको हो : मेयर शाक्य

नेपालखोज २०७७ फागुन १६ गते १५:३१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्त्व विभागप्रति आक्रोशित पोखेका छन् । आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्त्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताएका छन् ।

कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्त्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए । अहिले पुरातत्त्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र नागरिकलाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए ।

उनले भने, ‘पुरातत्त्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्त्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्त्व विभागलाई त्यस्तो किसिमले छाडा रूपमा छोड्न सकिन्न । नागरिक–नागरिकबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्त्व विभागलाई कानुनको दायराभित्र हामी ल्याउँछौँ ।’

मेयर शाक्यले पुरातत्त्व विभागले यहीअनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनीसमेत दिए। महानगरभित्र रहेका कतिपय सम्पदाहरू पुरातत्त्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि उनले बताए ।

हनुमानढोकाभित्र रहेका सतलहरूमा पुरातत्त्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताए। सबै पसल र होटल नहटाए स्थानीय र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।

उनले भने, ‘काठमाडौं महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रूपमा कायम गर्न चाहन्छौँ । हामीले पुरातत्त्व विभागलाई पत्र पनि लेखिसकेका छौँ । हनुमानढोकाभित्र जुन–जुन सतलहरू थियो, ती सतलबाट पुरातत्त्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्राचार गरिसकेका छौँ । पुरातत्त्व विभागले व्यापार गरेर पैसा कमाउने होइन, सतल खुला नै हुनुपर्छ, बटुवामैत्री हुनुपर्छ भन्ने काठमाण्डौ महानगरपालिकाको धारणा हो । हामीले पत्राचार गरिसकेका छौँ, पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरू सबैलाई सिकाएर हिँड्ने पुरातत्त्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा कमाइराखेको छ । त्यसको अब हामी काठमाण्डौ महानगरवासी सहने छैनौँ, हटाउँछौँ । हटाएन भने अब स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गरेर अगाडि बढ्छौँ । ’

मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनै पनि विवादमा नबोल्दासमेत निर्माण कार्यमा ढिलाइ हुने गरेको पनि बताए । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाए ।

प्रतिक्रिया