बिहीबार, चैत १५, २०८०

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालखोज २०७७ फागुन १७ गते २१:५७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

मूल्यवृद्धिपछि आन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य अमेरिकी डलर ८९३ पुगेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पोरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।

प्रतिक्रिया