शनिबार, वैशाख १५, २०८१

विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

नेपालखोज २०७९ माघ २४ गते १४:०८

काठमाडौं । आइतबार र सोमबार दुई दिनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘’विप्लव’ पत्रकार सम्मेलनको तयारीमा जुटेका छन् ।

उनले भोलि बुधबार दिउँसो १ बजे काठमाडौंको राष्ट्रय नाचघरमा ‘ विशेष’ पत्रकार सम्मेलन गर्ने भएको कार्यालयले जनाएको छ ।

उनले आइतबार भएको प्रधानमन्त्रीसँग मुलुकमा संसदीय व्यवस्था असफल बन्दै गएको र जनतामा राजनीतिप्रति निराश व्यापक बढेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि समाजवादी मोर्चा गठन गर्नेबारे छलफल गरेका थिए । साथै उनले तत्कालीन केपी ओली सरकारसँग भएका सहमतिको ३ नम्बर बुँदामा उल्लेख नेकपा सम्पूर्ण बन्दीहरुलाई रिहाइ गर्न ढिला गरे त्यसबाट उत्पन्न सम्पूर्ण जिम्मेवारी सरकार हुने कुरा राखेका थिए ।

त्यसको भोलिपल्ट सोमबार साँझ विप्लवले पार्टी प्रवक्ता प्रकाण्डसहित भक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । उनले भेटमा तत्कालीन सरकारका बेला भएका नेकपासँगको ३ बुँदे सहमतिमध्ये ३ नम्बर बुँदा कार्यान्वयन हुन नसकेको भन्दै तत्काल कार्यान्वयनका लागि भूमिका खेल्न आग्रह गरेका थिए । ३ नम्बर बुँदामा नेकपाका नेता कार्यकर्तामाथिकाे मुद्दा खारेज र सबै बन्दीकाे रिहाइ उल्लेख छ । उनले कानूनमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम तय गरेका छ्न् ।

नेकपाले हालै मात्र कपिलवस्तुको शिवगढीमा ७ दिन लामो समय लगाएर केन्द्रीय समितिको पूर्ण बैठक पूरा गरेको छ । पत्रकार सम्मेलनमा केन्द्रीय समितिले लिएको निर्णय र आगामी कार्यक्रमबारे पनि जानकारी दिने बताइएको छ ।

विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती भएको जनाउँदै यसलाई देशभित्रबाट हटाउनुपर्ने मागसहित संघर्ष गर्दै आइरहेका छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तहको चुनावमा नेकपा फुटेको थियो । चुनावमा जाने कित्ताको नेतृत्व विप्लव र बहिष्कार गर्ने कित्ताको नेतृत्व कञ्चनले गरेका थिए । स्थानीय तहको चुनावमा भाग लिएका विप्लव गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भने भाग लिएनन् । यसरी एकै वर्षमा भएको चुनावमा पनि भाग लिने र नलिने दुई धारे नीति लिएको भन्दै पार्टीभित्रै उनको नेतृत्वबारे प्रश्न उठाइएको छ ।

प्रतिक्रिया