शुक्रबार, वैशाख १४, २०८१

सरकार र विप्लव समूहबीच एकै दिन दुई चरणमा वार्ता,दुबै पक्ष समान धारणा नजिक पुगेको दावी

नेपालखोज २०७७ फागुन १९ गते १९:०७

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता द्रुत गतिमा अघि बढेको छ । बुधबार एकै दिन दुई चरणमा वार्ता भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् । भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

पहिलो चरणमा बुधबार बिहान र दोस्रो चरण अपराह्न वार्ता भएको थियो । भट्टराईले ‘दुवै पक्ष समान धारणा नजिक पुगेको’ भने पनि के प्रगति भयो भन्ने कुरा सार्वजनिक गरिएको छैन । विप्लव पक्षले पनि वार्ताबारे जानकारी गराएको छैन ।

दुवै पक्षले आ-आफ्ना तर्फबाट वार्ता टोली गठन गरेको कुरा मङ्गलबार विज्ञप्तिमातर्फत सार्वजनिक गरेका थिए । सरकारी टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । विप्लव समूहको टोलीमा केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ छन् ।

सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि आफ्नो पार्टी वार्ता टोली गठन गरेको कुरा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया