विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न गृह मन्त्रालयले प्रहरीलाई मौखिक निर्देशन दिएको छ ।
बुधबारदेखि सरकार र विप्लव समूहबीच वार्ता जारी रहेकाले विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न गृहले प्रहरीलाई मौखिक निर्देशन दिएको खुलेको हो ।
बुधबार दिनभर तीनपटक दुई टोलीबीच वार्ता भएको थियो । वार्ता सकारात्मक रहेको र बिहीबारको वार्तालाई निर्णायक बनाउने प्रयास भइरहेको छ ।
बुधबार बेलुका दुई वार्ता टोलीबीच गृहमन्त्री रामबहादुर थापा बादलको पुल्चोक स्थित सरकारी निवासमा तेस्रो वार्ता भएको थियो । त्यसअघिका दुई वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएका थिए ।
दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताएका थिए । त्यहि विन्दुबाट बिहीबार बिहानदेखि दुवै पक्षबीच पुनः वार्ता सुरु भएको छ ।
मंगलबार सरकारले वार्ता टोली गठन गरे लगत्तै गृह मन्त्रालयले प्रहरीलाई त्यस्तो निर्देशन दिएको हो । मंगलबार दुवै तर्फबाट वार्ता टोली गठन भएपछि बुधबारदेखि वार्ता भइरहेको छ ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव समूहको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने छन् ।
सरकारले हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपा समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया