कञ्चनपुरस्थित नेपाल-भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, एक जना तस्करको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीय नागरिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए ।
मृतक भारतीय नागरिकको सनाखत हुन सकेको छैन । उनको उमेर अन्दाजी २५ वर्ष छ । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको डिएसपी थापाले बताए ।
प्रतिक्रिया