मेयर कप : वाग्मतीमाथि नेपाल पुलिसको रोमाञ्चक जित

काठमाडौं । आजबाट सुरु भएको काठमाडौं मेयर कप अन्तर्गत मुलपानी मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ । टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले वाग्मती प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको हो ।
सुरुवाती ब्याटिङ गरेको पुलिसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन र सुनिल धमला, अनिल शाह र दीलिप नाथले समान १०र१० रन जोड्दै ७२ रन बनाए । पुलिसलाई सस्तैमा समेट्न अरियो पौडेलले सर्वाधिक ४ विकेट लिँदा नन्दन यादवले ३ र सोनु देवकोटाले १ विकेट लिए ।
झिनो लक्ष्य पछ्याए पनि वाग्मती प्रदेशले लक्ष्य भने भेट्उन सकेन । ७३ रनको लक्ष्य पछ्याएको वाग्मती २७.२ ओभरमा अलआउट हुँदै ७० रनमा समेटियो ।
वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लको २२ रन र आदिल खानको १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
वाग्मतीलाई लक्ष्यसम्म पुग्न नदिन पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ विकेट, सागर ढकालले २ विकेट र राशिद खानले १ विकेट लिए ।
प्रतिक्रिया