मंगलबार, वैशाख ३०, २०८२

मेयर कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित, मेयर-११ को विजयी सुरुवात

नेपालखोज २०७७ फागुन २३ गते १९:४२

काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेटमा एपीएफले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आइतवार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले हराएको हो ।

पुलिसले दिएको दुई सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा नौ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफको जितमा सन्दीप जोराले ६१ र सुवास खकुरेलले ५० रनको अर्धशतकीय पारी खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले एक सय ४० रनको शतकीय पारी खेले । दिपेन्द्रको यो पहिलो शतक पनि हो । एपीएफका शरद भेषवाकरले तीन, अविनास बोहराले दुई तथा अमर रौटेलाले एक विकेट लिए ।

यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै काठमाण्डौ मेयर–११ ले विजयी सुरुवात गरेको छ । जितका लागि दुई सय ४५ रनको लक्ष्य पाएको वाग्मती ३४ ओभर तीन बलमा एक सय ५० रनमा समेटियो । मेयर–११ का कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए ।

यस्तै विपिन खत्री र अनिल खरेलले दुईरदुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको मेयर–११ ले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो ।

प्रतिक्रिया