नेकपाको अन्तिम बैठकको निर्णय- ‘माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै’

नेपालखोज २०७७ फागुन २४ गते २०:३२

काठमाडौं । प्रचण्ड–माधव समूहले सोमवार बसेको स्थायी कमिटीको बैठक नेकपाको अन्तिम बैठक भएको जनाएको छ । पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो ।’ समूहले सर्वोच्च अदालतको आइतवारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।

श्रेष्ठले पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार आयोगले कार्यान्वयनको प्रक्रिया जसरी अघि बढाउँछ त्यही अनुसार हुने बताए । दुई पार्टीमा एकिकरणको पहल भएपनि तत्काल भने फरक फरक दलका रुपमा कार्य हुने जानकारी गराए ।

बैठकले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर सर्वोच्चले राजनीतिक फैसला गरेको निष्कर्ष निकालेको छ ।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । यस्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।

प्रतिक्रिया