राजनीतिमा नयाँ खेल सुरु, हतार नगरी खेलौँ : कांग्रेस महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले राजनीतिमा भर्खर नयाँ खेल सुरु भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री खड्काले राजनीतिमा भर्खर नयाँ खेल सुरु भएको र कांग्रेसले खेल्न हतार गर्न नहुने बताएका हुन् ।
अहिले फेरि कांग्रेसको काँधमा धैर्यता, संयमता र समय अनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको बताउँदै उनले भने–‘अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन । भर्खर त नयाँ खेल सुरु भएको छ । परिपक्वता र साहसिक निर्णय काग्रेसबाट देशले फेरि माग गर्दैछ, धैर्यवान बनौँ ।’
सर्वाेच्च अदालतले नेकपा एकीकरण बदर गरेर एमाले र माओवादी ब्यूँताएपछि सत्तासमीकरण फेरबदलको चर्चा भइरहेका बेला महामन्त्री खड्काले कांग्रेसले हतार नगरी खेल खेल्नुपर्ने बताएका हुन् ।
सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे गरेको फैसलाले सत्तारुढ दललाई २०७५ साल जेठ ३ गते भएको एकता अघिकै अवस्थामा फर्काइदिएको छ । नेकपाको वैधानिकता नपाएपछि सत्तापक्षको स्थिति तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै रुपमा पुगेको हो ।
एकतापछि बनेको नेकपाको सत्ता राजनीति गम्भीर संकटमा पुग्दा खेमा फेरबदल गरेका नेताहरुको राजनीतिक अवस्था के होला अबको चासो त्यतै देखिएको छ ।
प्रतिक्रिया