न्यूयोर्कमा अष्टमाया फाउण्डेसनको स्थापना

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरका चर्चित नेपाली व्यवसायी समीर महर्जनले ‘अष्टमाया फाउण्डेसन’ को स्थापना गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आफ्नो परिवारसँग मिलेर आफ्नी ८५ वर्षीय आमा अष्टमाया महर्जनको नाममा च्यारिटेबल संस्था स्थापना गरेका हुन् ।
१० हजार डलर सिड फण्डिंगबाट शुरू गरिएको फाउण्डेसनको उदघाटन सामाजिक अभियन्ता डा. विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पाले संयुक्त रूपमा गरेका थिए । न्यू योर्कको ज्याक्सन हाईट्सस्थित समीर महर्जन र उनकी श्रीमति सूर्य श्रेष्ठ महर्जनद्वारा संचालित कुईन्स डाईमण्ड एण्ड ज्वेलरीको लक्जरी सेक्सनको शुरूवातीसंगै स्थापना गरिएको फ़ाउण्डेशनले नेपालमा आर्थिक सक्षमता, समानता र शिक्षामा अनुदान गर्ने जनाएको छ ।

उक्त उद्घाटन समारोहमा कुईन्स डाईमण्ड एण्ड ज्वेलरी कम्पनीले समाजमा पुर्याएको योगदानको कदर गर्दै डा. विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पालाई सम्मान समेत गरेको छ ।
को हुन् आमा अष्ट माया महर्जन ?
अष्ट माया महर्जन कुईन्स डाईमण्ड एण्ड ज्वेलरीका प्रोप्राईटर समीर महर्जनकी आमा हुन् । हाल ८५ वर्षीय आमा अष्ट माया महर्जन विगत ३ वर्षदेखि अल्जाईमर्स रोगसंग लडीरहेकीछिन् । उनी अहिले नेपालको ललितपुर, पाटनस्थित समीरका माहिलो दाईसंगै घरमा अन्य परिवारको साथमा उपचाररत छिन् । समीरका बुबा ८४ वर्षीय बाबुकाजी महर्जन आमाकै साथमा छन् । न्यू योर्कमा फ़ाउण्डेशनको उद्घाटनपछि समीरले आमासंग बोलेको तर असक्तताको कारण आमाले आफ्नो नाममा फाउण्डेसन खोलेको कुराको भेउ पाउन नसकेको कुरा भावूक हुँदै बताए ।

प्रतिक्रिया