‘बी’ डिभिजन लिग : अन्तिम खेलमा मध्यपुरको जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनले जित निकालेको छ ।
लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा मध्यपुरले बिहीबार झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुरलाई जित दिलाउन रोनिस ढिके राजबाहक र धिरज श्रेष्ठले एक एक गोल गरे ।
झम्सिखेलका मनिष खड्काले एक गोल फर्काए । खेलको छैटौं मिनेटमा मनिषले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए । तर, खेलको ३६ औं मिनेटमा रोनिसले गोल गर्दै मध्यपुरलाई १-१ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा धिरजले गोल गर्दै मध्यपुरलाई २-१ को जित दिलाए । यस जितसँगै मध्यपुरले लिगको सुखद अन्त्य गरेको छ ।
जितपछि मध्यपुरले ११ खेलमा १६ अंक जोडेको छ । मध्यपुरले चौंथो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । झम्सिखेल ११ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
प्रतिक्रिया