बिहीबार, वैशाख १३, २०८१

सातदोबाटो बन्यो बी डिभिजन लिगको च्याम्पियन

नेपालखोज २०७७ फागुन २७ गते २१:२९

काठमाडौं । दुई खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) लाई १–० ले हराउँदै शहीद स्मारक बी डिभिजन लिगको उपाधि उचालेको छ ।

बिहीबारको अन्तिम खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले ६७औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटो युथ क्लबले च्याम्पियन ट्रफीसँगै नगद १५ लाख रुपैयाँ हात पार्‍यो भने दोस्रो भएको खुमलटारले १०, तेस्रो भएको बाँसबारीले ८ तथा चौथो भएको ब्वाइज युनियनले ५ लाख रुपैयाँ प्राप्त गर्‍यो । १२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भयो ।

प्रतियोगितामा खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक बी डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिँदा सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्दा खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए ।

सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्‍यो ।

११ वर्ष बी डिभिजनबाट ए डिभिजनमा उक्लिन संघर्ष गरेको सातदोबाटोले सम्पन्न ११ खेलबाट ९ खेलमा जित निकाल्दा १ मा बराबरी र १ खेल गुमाउन पुगेको थियो ।

२०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सी डिभिजनको यात्रा तय गरेको थियो । करिब ९ वर्ष सी डिभिजनबाट बी डिभिजनमा उक्लिन मिहिनेत गरेको सातदोबाटोले ११ वर्षपछि बी डिभिजनका खेलमा अनुभव सगाल्ने मौका बुनेको थियो ।

२०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ ।

प्रतिक्रिया