बिहीबार, वैशाख १३, २०८१

एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किए

नेपालखोज २०७७ फागुन २८ गते ७:२७

कोरोनाका कारण विगत एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किएका छन् । अध्यागमन कार्यालय रसुवागढीका अनुसार मंगलबार ११ जना र बुधबार एक जना केरुङबाट रसुवागढी आई आ–आफ्नो घर फर्किएका हुन् ।

व्यापार व्यवसायका लागि केरुङमा नै बसोबास गरिरहेका जिल्लाभित्र र बाहिरका नेपालीहरू कोभिडका कारण लगाइएको लकडाउनले गर्दा घर फर्कन सकिरहेका थिएनन् । फागुन २१ गतेदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि केरुङमा रहेका नेपालीले कोही गर्भवती भएको र कोही बिरामी भएको कारण देखाई स्वदेश फर्काउन अनुरोध गरेकोले उनीहरूलाई स्वदेश फर्काइएको अध्यागमन प्रमुख एकनारायण भण्डारीले बताए ।

उनले कन्सुलर विभागमार्फत ल्हासाको महावाणिज्य दूतावाससँग समन्वय गरेर सम्पर्कमा आएका घर फर्कन चाहने ती नेपालीलाई करिब एक महिनाको प्रयासपछि घर फर्काउन सफल भएको बताए​ । केरुङमा नेपालीहरू होटल, सुन पसल, सुपर मार्केटका साथै गेस्ट हाउसमा काम गर्ने गर्दछन् भने केहीले आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया