चैत १ गते एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । सर्वोच्च अदालले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक डाकिएको सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि पार्टी २०७५ जेठ २ गतेको स्थितिमा पुगेको र त्यतिखेर पार्टीको पोजिसन के थियो, छलफलको सुरुवात त्यहीँबाट गर्नुपर्छ,’ गुरुङले भने, ‘यो बीचमा धेरैको मन भाँचिएको छ, यो कुरालाई मनन गरेर सबै आत्मालोचित हुनुपर्छ र कमीकमजोरी कहाँ भएको छ, खुला–खुलस्त छलफल गरेर जानुपर्छ । त्यसैका लागि हामीले चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाएका छौं ।’
पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधान पनि त्यही बैठकले गर्ने गुरुङले बताए ।
सचिव गुरुङले चैत १ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकले अध्यक्ष, महासचिवको सचिवालय निर्माणदेखि अरू पार्टीबाट आएकाको व्यवस्थापन गर्नेसम्मका कामको म्यान्डेट दिने र आवश्यकताका आधारमा पोलिटब्युरो, स्थायी कमिटी र पार्टी पदाधिकारीको बैठक बसेर टुंगो लगाउने कामको सुरुवात गर्ने बताए ।

प्रतिक्रिया