शुक्रबार, वैशाख ७, २०८१

ममाथि घेराबन्दी भइरहेको छ : प्रचण्ड

नेपालखोज २०७७ फागुन २८ गते १३:२८

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको उनले बताए ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको उनले बताए । १२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै उनले भने, ‘म अहिले जीवितै छु र अहिले यो परिवर्तन उल्ट्याउन सबैभन्दा घेराबन्दी ममाथि भइरहेको महसुस गर्छु ।’

संसद विघटन, जनताको सार्वभौम अधिकार उल्ट्याउने षडयन्त्र भएकाले त्यसविरुद्ध आफूहरु लडेको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापनाको पक्षमा फैसला गरेको बताए ।

तर प्रतिक्रिवादी षडयन्त्र नरोकिएको र अनौठा–अनौठा परिघटना देख्नु परेको उनले बताए । नेकपाको नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलातर्फ संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘म कसैलाई गाली गर्न गइरहेको छैन, तर एउटा गम्भीर प्रश्न खडा भएको छ । जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नु परेको छ । त्यस्तो हुन्छ ?’

उनले अघि भने, ‘हुनै नसक्ने कुरा हुन थालेको छ भने केही अनिष्ट हुँदैछ कि देशमा भन्ने संकेत होइन र यो ? हेर्दै जाउँ, अझ केके अस्वाभाविक परिघटना देख्नुपर्ने हो ।’

संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै उनले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताए ।

प्रतिक्रिया