बिहीबार, वैशाख १३, २०८१

नेपालमा दोस्रो डोजका लागि कोरोनाको खोप नपुग्ने सम्भावना

नेपालखोज २०७७ फागुन २९ गते ९:२२

काठमाडौं । सरकारले उपलब्धताका आधारमा खोप लगाउँदै जाने बताए पनि यसअघि खोप लगाएकालाई दोस्रो डोजका लागि खोप नपुग्ने सम्भावना बढेको छ । कुल प्राप्त २३ लाख ४८ हजार मात्रा खोपमध्ये बाँकी रहेको ९ लाख ४० हजार खोपले यसअघि खोप लगाइसकेकालाई दोस्रो मात्रा नपुग्ने भएको हो ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप, सरकारले खरिद गरेको १० लाख र कोभ्याक्स अन्तर्गत प्राप्त ३ लाख ४८ हजार मात्रा खोपबाट पहिलो र दोस्रो चरणमा गरेर आजसम्म १४ लाख ८ हजार बढीलाई खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

दोश्रो चरणमा मात्र १८ लाखलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले सरकारले भारतको सिरम इस्टिच्युटसंग खरिद गरेको बाँकी १० लाख डोज खोप केही दिनमै नेपाल भित्रिने दाबी गरे ।

उक्त खोप उपलब्ध नभए दोश्रो डोजको खोप लगाउने व्यक्तिले खोप लगाउन समेत समस्या हुनेछ । सरकारले फागुन २३ गतेबाट शुरु गरेको समुदाय स्तरको कोभिड–१९ खोप अभियान अन्तर्गत हिजोसम्म ९ लाख ५० हजार बढीले खोप लगाएका छन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकका लागि जारीे अभियान चैत्र ३ गतेसम्म चल्नेछ । दोश्रो चरणको खोप अभियान सकिएपछि दोश्रो डोजको खोप लगाउन शुरु गर्ने सरकारको तयारी छ । 

प्रतिक्रिया