शुक्रबार, वैशाख १४, २०८१

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउन नेकपा माओवादी केन्द्रको निर्देशन

नेपालखोज २०७७ फागुन २९ गते १५:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले हिजो एमालेले माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्य बनाएका नेताहरुले पार्टी परित्याग गरेको हो अथवा होइन २४ घण्टाभित्र लिखित जानकारी गराउन निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थागित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा ‘बादल’सहितका नेताहरु नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए । जसमध्ये बादल, थापा, भट्ट, थारु र लामा मन्त्री छन् ।

प्रतिक्रिया