बिहीबार, वैशाख १३, २०८१

वान प्लसले ल्याउँदै पहिलो स्मार्ट घडी

नेपालखोज २०७७ चैत १ गते १४:२६

एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी वान प्लसले आफ्नो पहिलो स्मार्ट घडी यहीँ मार्चमा सार्वजनिक गर्न लागेको छ। इन्ग्याजेटका अनुसार कम्पनीले ट्वीटरमा आठ सेकेन्डको टिजर भिडियो हालेर वान प्लस स्मार्ट घडी मार्च २३ देखि उपलब्ध हुने बताएको हो।

वान प्लसले हालसम्म स्मार्ट घडीको डिजाइनबारे खुलासा गरेको छैन। तर रिर्पोटको अनुमानअनुसार सो स्मार्ट घडीको आकार गोलो हुनेछ। प्रयोगकर्ताको हृदय गति, रक्त अक्सिजन र रक्तचाप मापन गर्न वान प्लस स्मार्ट घडीको पछाडी कयौँ सेन्सरहरु राखिने इन्ग्याजेटले जानकारी दिएको छ।

यस स्मार्ट घडीमा प्रयोगकर्ताको शारीरिक गतिविधि ट्रयाक गर्न सक्ने फिचर पनि हुनेछ। कम्पनीका सिइओ पिट लाउले गत वर्ष नै वान प्लस स्मार्ट घडी बन्दै गरेको खुलाएका थिए। सन् २०१६ मा पनि कम्पनीले स्मार्ट घडी बनाउने प्रयास गरेको थियो, तर काम बिचमा रोकियो।

अब पहिलो स्मार्ट घडीसँगै कम्पनीले आफ्नो नयाँ स्मार्ट फोन वान प्लस ९ र वान प्लस ९ प्रो पनि त्यही दिन सार्वजनिक गर्नेछ।

प्रतिक्रिया