सिंहको निधनमा काउन्सिलमा शोकसभा

नेपालखोज २०७७ चैत १ गते १४:२५

काठमाडौं । प्रेस काउन्सिल नेपालले पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न शोकसभा गरेको छ । गत फागुन १८ गते निधन भएका सिंह काउन्सिलमा २०४७ देखि २०४८ सम्म अध्यक्ष रहेका थिए । वि.स. २०५२ सालमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएका सिंहले काउन्सिलमा अध्यक्ष रहँदा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त खेलेको भूमिकाको स्मरण गर्दै काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विगतको इतिहास र अग्रजको योगदानको कदर गरिने बताए ।

१३ औँ दिनको तिथिमा आयोजित शोकसभामा बोल्दै उनले सिंहको निधनले प्रेस काउन्सिल परिवार शोकाकुल बनेको भन्दै शोकसन्तप्त परिवारमा धैर्यधारणका लागि समवेदना प्रकट गरे । कार्यवाहक अध्यक्ष बुढाथोकीले काउन्सिलको सातौँ अध्यक्ष सिंहको महत्त्वपूर्ण योगदान रहेको र गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै अग्रजको सम्मान गर्नु कर्तव्य हुने उल्लेख गरे । कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले शोकलाई शक्तिमा बदलेर काउन्सिलको श्रीवृद्धीका लागि उनको मार्गदर्शन पछ्याइरहने उल्लेख गरे ।

शोकसभामा सिंहको कार्यकालमा कार्यरत रहेका काउन्सिलका कर्मचारी हर्कबहादुर श्रेष्ठले उनको कार्यशैली कर्मचारीमैत्री भएको स्मरण गरे । सिंह लामो समय सरकारी सेवामा सेवारत रही सर्वोच्च अदालतका न्यायाधीशका हैसियतमा काउन्सिलको अध्यक्ष भएकाले पनि उनले कर्मचारीको हक अधिकार र सेवासुविधाप्रति सकारात्मक भएको स्मरण गरे ।

शोकसभामा काउन्सिल पूर्व सदस्य चेतनाथ धमला लगायत काउन्सिलमा कार्यरत सम्पूर्ण कर्मचारीले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । सिंहको निधनको शोकमा काउन्सिलले आज १३ औँ दिनमा आधा दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया