अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेटघाट गरेकाछन । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूत गोडेरले तिमिल्सिनासँग सोमबार भेट गरेका हुुन । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए ।
उनले दुई देशले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा चासोका विषयहरुमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए । इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे ।

’इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषि सम्बन्धि विभिन्न तालिम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन्,’ उनले भने, ’उनीहरुले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गर्न पाउनु खुसीको कुरा हो। यसले हाम्रो कृषि क्षेत्रमा व्यवसायिकता र प्रविधिको प्रयोग बढाएको छ ।’
अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकहरूको स्याहारसुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन राजदूत मार्फत इजरायल सरकारलाई अनुरोध गरे । यसमा दूतावासले पछिल्लोसमय चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास व्यक्त गरे । त्यसैगरी उनले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना–प्रविधि,खानी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

भेटका क्रममा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी व्यक्त गरे । इजरायलमा वार्षिक पाँचसय जना नेपाली एघार महिने कृषि तालिम लागि जाने गरेको बताउँदै उनले अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराए ।
’इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बरारबरको सेवा सुविधा पाउने गरेका छन् । कामदारबीच कुनै विभेद छैन,’ राजदूत गोडेरले भने, ’नेपाली कामदालाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिवद्ध छ ।’
नेपालमा पर्यटकको रुपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उनले जानकारी गराए ।

प्रतिक्रिया