सर्वदलीय बैठकमा भाग लिन शीर्ष नेता राष्ट्रपति निवासमा, नेपाल र खनाल भने अनुपस्थित

नेपालखोज २०७७ चैत ३ गते १६:५६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा भाग लिन राजनीतिक दलका शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् ।

आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठक सुरु भइसकेको छैन । राष्ट्रपति कार्यालयका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष महन्थ ठाकुर, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत शीतल निवास पुगिसकेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेताद्वय एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका छैनन् ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दुवै नेता बैठकमा सहभागी नभएको जानकारी दिए । ‘भोलिदेखि पार्टीकै राष्ट्रिय कार्यकर्ता भेला बोलाइएकाले उहाँहरु त्यसैमा व्यस्त हुनुहुन्छ,’ उनले भने ।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई बैठकमा बोलाएकी हुन् । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि शीतलनिवास पुगिसकेका छैनन् ।

प्रतिक्रिया