संविधानको अक्षरशः पालना गरेको छु : राष्ट्रपति

नेपालखोज २०७७ चैत ३ गते २०:५४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका विषयमा जानकारी गराएकी छिन् ।

साथै दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएकी छन् । सर्वदलीय बैठकमा संसद विघटनका विषयमा समेत कुरा उठेको नेमकिपा सांसद् प्रेम सुवालले बताए । उनका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए ।

‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको बताए। उनले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको उनको भनाई छ। सरकार र संसद् नचले फेरि पनि विघटन हुने उनले बताए । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

त्यस्तै राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका बारेमा बैठकमा जानकारी गराएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । सर्वदलीय बैठकमा आफूले राजनीतिक समस्याको समाधान संसदबाटै खोज्न सुझाव दिएको अध्यक्ष केसीले जानकारी दिए ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका थिए । भने एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित भएका थिए ।

प्रतिक्रिया