नेपाल समूहको भेलाप्रति ओली समूहको आपत्ति

काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाद समूहले आयोजना गरेको राष्ट्रिय भेलाप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ । नेपाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय भेलाबारे ध्यानाकर्षण भएको जनाउँदै महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा उनले नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेको भन्दै नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘यस्तो अनाधिकृत गुटगत भेला नगर्नरनगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेतारकार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ,’ उनले चेतावनी दिँदै भनेका छन्, ‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’
ओली समूहले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो । त्यसपछि रुष्ट बनेको नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएको हो । यसअघि सोमबार ओली र नेपाल समूहबीच छलफल भए पनि पार्टीभित्रको विवाद समाधानबारे कुनै निष्कर्ष निस्केको थिएन ।


प्रतिक्रिया