बालुवाटारमा संसदीय दलको बैठक सुरु, नेपाल–खनाल समूहद्वारा बहिष्कार

नेपालखोज २०७७ चैत ५ गते १३:०९

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले आध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक खनाल–नेपाल पक्षले भने बहिस्कार गरेका छन् ।

नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही सांसद केपी ओलीले बोलाएको बैठकमा सहभागिताका लागि हिँडेको भए पनि सिंहदरबारबाटै फर्किएका छन् ।

बिहीबार बिहान ललितपुरको हेरिटेज पार्टी प्यालेसबाट स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु बैठकमा सहभागी हुन बालुवाटार जाने भनी हिँडेको भए पनि सिंहदरबारबाट फर्किएको सांसद गणेश पहाडीले जानकारी दिए ।

उनका अनुसार अब नेपाल समूहका कोही पनि सांसद बालुवाटारको बैठकमा सहभागी हुने छैनन् ।

यता खनाल–नेपाल पक्षबाट ४४ जना सांसद सहभागी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गएको फागुन २८ गते एमाले अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरी नेकपा (माओवादी केन्द्र)बाट आएका २३ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।

विधानविपरीत पदाधिकारी हटाएको तथा विधानानुसार मिल्दै नमिल्ने गरी २३ जना केन्द्रीय सदस्यसमेत मनोनीत गरेर जिम्मेवारी तोकिएपछि खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । यही समयमा प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएपछि नेपाल–खनाल समूहले बहिस्कार गरेका हुन् ।

प्रतिक्रिया