मंगलबार, वैशाख ३०, २०८२

थ्री नेसन्स कपको ९० प्रतिशत तयारी पुरा, १५ हजार क्षमता रहेको रंगशालामा १२ हजार मात्रै टिकेट बच्ने तयारी

नेपालखोज २०७७ चैत ५ गते १६:२३

काठमाडौं । चैत १० देखि १६ गते सम्म काठमाडौंको दशरथ रंगशालामा हुनलागेको फुटबल प्रतियोगिताको ९० प्रतिशत तयारी पुराभएको अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको एन्फाले जनाएको हो ।

प्रतियोगितामा भारतमा फुटबल खेलिरहेका किरण चेमजोङ र अभिषेक रिजालले पनि सहभागिता जनाउने निश्चित भएको छ ।

नेपाली टोलीमा ३३ खेलाडी र ९ अफिसियल गरी ४२ जना सहभागी हुनेछन् ।

नेपाल, बंगलादेश र कीर्गिस्तानबीच चैत १० गते सुरु हुने थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबल प्रतियोगिताकालागि बंगलादेशबाट ३० खेलाडी र १० अफिसियलसहित ४० जनाको टोली आउनेछ । उनीहरु आजै साँझसम्म त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन बंगलादेश फुटबल संघका अध्यष काजी सलाहुद्दिन मार्च २२ मा आउने कार्यक्रम छ ।

यस्तै किर्गिस्तानले भने ओलम्पिक टोलीका २२ खेलाडी र २० अफिसियल सम्मिलित ३२ जनाको टोली माच २१ (चैत ८) गते आउने भएको छ ।

प्रतियोगिताको टिकटमा साधारणतर्फ ७ सय रुपैयाँ र भीआईपीतर्फ १५ सय रुपैयाँ तोकिएको छ । यसअन्तर्गत ७ सय दरको १० हजार ५ सय टिकट तथा १५ सय पर्ने १५ सयवटा टिकट बिक्री गरिनेछ ।

प्रतियोगिताको लागि १५ हजार क्षमता रहेको रंगशालामा १२ हजार टिकट बेचिने तथा सामाजिक दूरी कायम गरिने जनाइएको छ ।

प्रतियोगिता अवधिभर कुल खर्च १ करोडको हाराहारीमा हुने अनुमान छ । त्यस्तै डेढ करोड कमाउने लक्ष्य राखिएको छ ।

प्रतियोगिताको टिभी राइट्स र टाइटल स्पोन्सर भने १/२ दिनमा सार्वजनिक गरिनेछ ।

प्रतियोगिता जित्ने टोलीले ५ हजार अमेरिकी डलर, दोस्रो हुनेले ३ हजार डलर पाउनेछ ।

मोस्ट भ्यालुएबल प्लेयरलाई ५ सय डलर र म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ । फिफा वरीयतामा नेपाल १७१औँ, बंगलादेश १८६औँ र किर्गिस्तान ९६औँ स्थानमा छ ।

प्रतिक्रिया