कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

नेपालखोज २०७७ चैत ६ गते ११:४५

काठमाडौं । नर्भिक अस्पताल उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णण गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी दिए ।

शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगेका थिए । उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए । जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन् ।

गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो । उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया