संसदमा यादवको प्रश्न- ‘रेशम थारु भएकै कारण जेलमा बस्नुपर्ने ?’

नेपालखोज २०७७ चैत ६ गते १५:२३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले थारु भएकै कारण जेलमा बस्नुपर्ने यो कस्तो विधि हो ? भन्दै प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै यादवले तत्कालीन राजपाका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीलाई थारु भएकै कारण जेल हालिएको आरोप लगाएका छन् । थरुहट आन्दोलनमा थारु समुदायको अधिकारका लागि लडेका व्यक्तिलाई जेलमा राखिनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

यसअघि बोलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षलाई मुलधारमा ल्याएको प्रसंग सम्झँदै यादवले भने, ‘तपाईंले यो कुरा गरिरहँदा थरुहट आन्दोलनमा म र नेपाली सरह अधिकार पाउनुपर्छ भनेर लड्ने व्यक्ति (रमेश चौधरी) तपाईं जत्तिकै हैसितले यो सदनमा हुनुपर्ने थियो। त्यसले जेल जीवन बिताइरहेको छ। किन त्यहाँ थारु भएका कारणले तपाईंको ध्यान पुगेन? थारु भएकै कारण जेलमा बस्नुपर्ने? हामी कस्तो विधि, थिति, कस्तो प्रणालीमा बाँच्दैछौं?’

उनले थरुहट आन्दोलनमा रहेका व्यक्तिलाई पनि मुलधारमा समाहित गर्‍यौं भनेको भए र संविधानलाई परिमार्जित गरेको भए राम्रो हुने बताए। उनले भने, ‘गणतन्त्रका लागि तपाईंसँग हातेमालो गरेर तपाईसँगै काँधमा काँध मिलाएर लड्यौं। तर, हामी अधिकार प्राप्त गर्नेबेलामा पछाडि पर्‍यौं ।’

प्रतिक्रिया