शुक्रबार, वैशाख ७, २०८१

‘साटे’मा नेपाल वायुसेवासहित २५ कम्पनीले सहभागिता जनाउने

नेपालखोज २०७७ चैत ८ गते १४:१४

काठमाडौं । कोरोना महमामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपालले पहिलो पटक सहभागिता जनाउने भएको छ ।

पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको हो । मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ कम्पनी सहभागी हुनेछन् ।

पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिए ।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं’ उनले भने, ‘साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने छ ।’

पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यस अघि एअरबबल सम्झौता अनुरुप नेपाल भारत दुवै देशबाट दैनिक दुईवटा हवाई उडान समेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीतिसमेत बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले जानकारी दिए ।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग,बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्त्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको संक्रमण पछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतर्राष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रवर्द्धनको काम गरे पनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको ग्रेटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया