शुक्रबार, जेठ ३, २०८२

मापदण्ड विपरीत स्यानिटाइजर बेच्ने ३४ कम्पनी कारबाहीमा

नेपालखोज २०७७ चैत ८ गते १६:४९

काठमाडौं । एक वर्षको अवधिमा मापदण्ड विपरीत ह्याण्ड स्यानिटाइजर बिक्री, वितरण गर्ने देशभरका ३४ कम्पनी कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा ज्यानै लिन सक्ने घातक मिथानोल राखेर बिक्री गर्ने, उत्पादन ठेगाना स्पष्ट नभएको र औषधि व्यवस्था विभागमा दर्ता नभएको, देशभरका ३४ वटा कम्पनी कारबाहीमा परेको नेपाल औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएको केही समयदेखि विभागले निरन्तर अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बिक्री, वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको यकिन गरेर मात्रै प्रयोग गर्न विभागका सूचना अधिकारी केसीले आग्रह गरे।

विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई बेला–बेला अपिल गर्दै आएको छ । बजारमा मापदण्ड विपरीतका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजरसमेत भएकाले गुणस्तर हेरेर प्रयोग गर्न विभागले अपिल गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको गति न्यून हुँदै गएपनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड भने निरन्तर पालना गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । अझै पनि ह्याण्ड स्यानिटाइजर प्रयोग गर्नेको सङ्ख्या कम भएको छैन । स्यानिटाइजर किन्दा केही शङ्का लागेमा, घातक हो वा होइन भन्नेबारे जानकारी नभएमा औषधि व्यवस्था विभागको वेबसाइटमा गएर त्यहाँ रहेको नम्बरमा फोन गरेर बुझ्न सकिने विभागका सूचना अधिकारी केसीले बताए ।

पछिल्लो पटक विभागले गरेको अनुगमनका क्रममा बाराको दुई कम्पनीले उत्पादन गरेका चार प्रकारका ह्याण्ड स्यानिटाइजर न्यून गुणस्तर भएको पाइएको छ । कोरोना रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड स्यानिटाइजर नै न्यून गुणस्तरको भेटिएको हो ।

बाराको डाबर इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर, आर्या फार्माल्याब प्रालीको क्लिन वेल इन्सटेन्ट ह्याण्ड सेनिटाइजरलगायतका न्यून गुणस्तरको पाइएको हो । यी उद्योगलाई तत्काल विवरण पेस गर्न पनि विभागले निर्देशन दिएको छ । साथै स्यानिटाइजरको बिक्री, वितरण तथा प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया