शनिबार, जेठ ५, २०८१

२२ करोड राजस्व संकलन

नेपालखोज २०७८ साउन ३२ गते १३:२९

वाग्मती । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोत तर्फ २२ करोड रूपैयाँभन्दा बढी रकम संकलन गरेको छ ।

कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो । राजस्व संकलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर चार करोड ९६ लाख ३१ हजार ५६९ रूपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ ।

पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर एक करोड ८६ लाख १८ हजार ६०० रूपैयाँ संकलन गरिएको हो । अन्य सेवा तथा शूल्क र बिक्रीबाट एक करोड ३९ लाख ७० हजार ६०९ रूपैयाँ संकलन गरिएको छ ।

विभिन्न प्रकारका सिफारिस दस्तुरबाट दुई करोड ९९ लाख ९१ हजार ७७२, नक्सापास दस्तुरबाट एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ रूपैयाँ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले बहाल करबाट पनि दुई करोड २४ लाख एक हजार ६९ कर संकलन गरेको छ । विभिन्न २२ वटा शीर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व संकलन गरेको छ ।

स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कुनै पनि क्षेत्रमा करमा वृद्धि नभएको र सङ्घ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिँदै आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा नदीजन्य पदार्थमा मात्र रु चार करोड ११ लाख १३ हजार सङ्कलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँड गर्नुपर्ने हुन्छ ।

त्यसैगरी नदीजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार सङ्कलन गरिएको उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नगर क्षेत्रभित्रका क्रसर उद्योगसँग असूल गर्न बाँकी एक करोड ८८ हजार रूपैयाँ पनि असुल गरेको छ ।

वन रोयल्टीको ६० लाख संकलन गरिएको कार्यालयले जनाएको छ । महानगरपालिकाले माटो बिक्रीबाट रु १२ लाख ९५ हजार संकलन गरेको छ ।

प्रतिक्रिया