श्रीलंकालाई हराउँदै भारत लेजेन्ड्स च्याम्पियन

रायपुर । श्रीलंका लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजको उपाधि चुमेको छ । आइतबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै रोड सेफ्टीको च्याम्पियन बनेको हो ।
जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । श्रीलंका सनथ जयसूर्याले ३५ बलमा ५ चौका र १ छक्का सहित ४३ रनको योगदान दिए । कौशल्या वीरत्ने १५ बलमा ३ चौका र ३ छक्का सहित ३८ रन बनाए ।
तिलकरत्ने दिलशान २१ र उपुल थरंगा १३ रनमा आउट भए । चिन्थाक जयसिंघे ३० बलमा १ चौका र २ छक्का सहित ४० रन बनाए । भारतका दुई दाजुभाई इरफान र युसुफ पठानले २–२ विकेट लिए । मुनाफ पटेल र मनाप्रीत गोनेले १–१ विकेट लिए ।
त्यसअघि सहिद वीर नारायण सिंह इन्टरनेशल स्टेडियम रायपुरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । भारतका युवराज सिंह ४१ बलमा ४ चौका र ४ छक्का सहित ६० रन बनाए । युसुफ पठानले ३६ बलमा ४ चौका र ५ छक्का सहित ६२ रनमा अविजित रहे । कप्तान सचिन तेन्दुलकर ३०, विरेन्द्र सहवाग १० र एस बद्रिनाथ ७ रनमा आउट भए । श्रीलंका रंगना हेराथ, जयसूर्या, महरुफ १–१ विकेट लिए ।
प्रतिक्रिया