राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

नेपालखोज २०७७ चैत ९ गते १७:३१

काठमाडौं । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमवार राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

सोमवार नै बङ्गलादेशका विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमवार बङ्गलादेश पुगेकी हुन।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानमार्फत बङ्गलादेश पुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले सोमवार नै बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदसँग द्विपक्षीय भेटवार्ता गर्ने छन भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुने छन । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।

प्रतिक्रिया