नेपालखोजको प्रधान–सम्पादकमा ढकाल, सम्पादकमा रेग्मी नियुक्त

काठमाडौं । सरस्वती इभेन्ट्स् प्रालिद्वारा सञ्चालित नेपालखोज डटकमको प्रधान–सम्पादकमा वरिष्ठ पत्रकार सुवास ढकाल नियुक्त भएका छन् । यस्तै सम्पादकमा शम्भुराज रेग्मी नियुक्त भएका छन् ।
नेपालखोज डटकमको केन्द्रीय कार्यालय महाराजगन्ज काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच अध्यक्ष सुवास शर्माले प्रधान–सम्पादक ढकाल र सम्पादक रेग्मीलाई स्वागत गरे ।
तीन दशकभन्दा बढी पत्रकारितामा सक्रिय ढकाल विगत २४ वर्षदेखि कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन साप्ताहिक तथा नारीमा प्रधान–सम्पादकको भूमिकामा थिए । कान्तिपुर मिडिया ग्रुपमा आउनुअघि उनी देशान्तर, सुरुचि तथा स्वतन्त्रता साप्ताहिकका सम्पादकसमेत थिए । २०२० सालमा सुनसरीको धरानमा जन्मिएका ढकाल राजनीतिशास्त्रमा स्नातक हुन् ।
नेपालखोजका प्रधानसम्पादक ढकाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष, एमनेस्टी इन्टरनेसनलका पूर्वमहासचिव, मानवअधिकार तथा शान्ति समाजका संस्थापक महासचिवसमेत हुन् ।

पदभार ग्रहण गर्दै प्रधान–सम्पादक ढकालले व्यावसायिक पत्रकारितालाई मूलमन्त्र ठानी अघि बढ्ने बताए । उनले भने, ‘व्यावसायिक पत्रकारिताबाटै सञ्चार क्षेत्रमा स्थापित हुनेगरी अघि बढ्नुपर्छ, आफूले पाएको अनुभवलाई पूर्ण प्रयोग गरी अनलाइन पत्रकारितालाई अघि बढाउनु अहिलेको आवश्यकता हो ।’
सम्पादकमा नियुक्त रेग्मी झन्डै दुई दशकदेखि पत्रकारितामा आबद्ध छन् । यसअघि उनी बाह्रखरी डटकममा कार्यरत थिए । यस्तै उनले नेपाल एफएम, नयाँ पत्रिका, नेपालवाणी रेडियो नेटवर्क, कान्तिपुर दैनिकलगायत विभिन्न सञ्चारमाध्ययमका काम गरिसकेका छन् । कानुनमा स्नातक, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी अहिले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चारमा दर्शनाचार्य (एमफिल) गरिरहेका छन् ।
पदभार ग्रहण गर्दै सम्पादक रेग्मीले आफूले जानेको र बुझेको सीप नेपालखोजमा लगाउने प्रतिबद्धता जनाए । उनले व्यावसायिक पत्रकारितामा सम्झौता नगर्ने जनाउँदै नेपालखोजलाई विश्वसनीय समाचार सम्प्रेषणको माध्यम बनाउने बताए । उनले भने, ‘आफूले जानेका कुराबाट नेपालखोजलाई एउटा उचाइमा पुर्याउने लक्ष्य छ ।’
करिब दुई वर्षअघिबाट सञ्चालनमा आएको नेपालखोज डटकमको समाचार कक्षले नयाँ नेतृत्व पाएसँगै व्यावसायिक पत्रकारितासहित अघि बढ्ने अध्यक्ष सुवास शर्माले विश्वास व्यक्त गरे । उनले भने, ‘अनुभवी पत्रकारलाई भित्र्याउन पाउँदा खुसी लागेको छ । नेपालखोज पनि नेपाली अनलाइन सञ्चारमाध्यममा स्थापित हुनेमा आशावादी छु ।’
कार्यक्रममा नेपालखोजमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको उपस्थिति थियो । नवनियुक्त प्रधान–सम्पादक ढकाल तथा सम्पादक रेग्मीलाई उपस्थित सबैले सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया