शे-फोक्सुन्डोमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ सेवा

नेपालखोज २०७७ चैत ११ गते १३:०९

“सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने” आफ्नो मुख्य उद्देश्यलाई अनुसरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे-फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ । नेपालको प्रमुख ताल मध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३ हजार ६ सय ६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा पर्दछ । नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे-फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो ।

निःशुल्क वाइफाइ सेवाको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरेका हुन् । उद्घाटन समारोहमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित थिए ।

सो उद्घाटन समारोहमा बोल्दै वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने “नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण छ । ” गास बास कपाससँगै आजको युगमा सूचना प्रविधि पनि जोडिएको उनले बताए । आफू डाक्टर नभए पनि इन्टरनेटबाटै एक जना बिमारीको लागि आफ्नो डाक्टर साथीसँगको सल्लाहले विमारीको उपचार फोक्सुण्डोमै गरेको अनुभव सुनाउदै उनले उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्ला सम्म फाइबर विस्तार गर्न तयार रहेको समेत बताए । वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको छ, अध्यक्ष अग्रवालले भने अब हामी फाईवर जडानको लागि योजना तयार गर्छौं ।

कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए । यहाँ उपलब्ध प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले विश्व बजारमा पहिचान गराउन सके मात्र पनि यो प्रदेशको कयापलट हुने उनको भनाइ थियो । यस प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व वजारमा पुरयाउने माध्यम सूचाना प्रविधि पनि एक भएको उनले बताए ।

प्रतिक्रिया