बिहीबार, चैत १५, २०८०

लटे मोदीको जटे ताल !

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ चैत १२ गते ८:००

महात्मा गान्धीले भारतलाई ब्रिटिस उपनिवेशबाट मुक्त गराए । गान्धीले चाहेको भए सम्पूर्ण भारतको राजनीतिक बागडोर आफ्नो हातमा लिन पनि सक्थे । तर, उनले त्यसो गरेनन् । गान्धीको आशीर्वादमा प्रधानमन्त्री भएका भनिएका जवाहरलाल नेहरू आधुनिक भारतका भाग्यविधाता हुन् । भारतमा अतिवादी हिन्दु शासक मोदी सरकारमा आएपछि सबै विकासको काम आफैंले सुरु गरेको भनेर जनतालाई भ्रममा राख्न खोजे पनि नेहरू नै ती नेता हुन् जसले भारतलाई शक्तिाशाली राष्ट्र बनाउने काम गरे । सामन्तको बिल्ला भिराइएका नेहरूले राज्यलाई आनन्दभवन दान दिएका थिए । जन्मँदै कौडी (सम्पत्ति) नभएका मोदीले राज्यको सम्पत्ति दुरुपयोग गर्न प्रशस्त चेला चपेटा पालेका छन् । जोगीको भेषमा ढोंग रचिरहेका मोदीको नांगो चरित्र यही नै हो ।

भारतमा सादगीका प्रतिमूर्तिको छवि बनाएका लालबहादुर शास्त्रीको नाम उच्च आदरसाथ लिइन्छ । हुन पनि लालबहादु्र सादगीका प्रतिमूर्ति नै थिए । एकपल्ट लालबहादुर तासकन्द पुगेका थिए । उनको सादगीपन देखेर ब्रेझनेभ अचम्ममा परेका थिए । अन्तर्राष्ट्रिय मिडियामा यो खबर छाएको थियो । तिनै लालबहादुरको सादगीको नक्कल गरिरहेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । उनले दाह्री पालेर जोगीको भेषमा भारतका जनतामाथि धेरै अन्याय गरेका छन् । भारतका पढे–लेखेका (शिक्षित) जनताले यो कुरा बुझे पनि बोल्न सक्ने अवस्था भने छैन । नबुझ्नेहरूले अयोध्यामा राम मन्दिर, ‘सबका अच्छे दिन आएगा’ भन्दै ताली पिटिरहेका छन् ।

दुनियाँको ठूलो लोकतन्त्र भनिएको भारतमा वर्तमानमा लोकतन्त्रको कुनै गुन्जायस देखिँदैन । किनकि त्यो देशमा सरकारको विरोध गर्नु भगवान् रामको विरोध गर्नु हो । आज भारतीय युवाहरू हरेक दिन रोजगार गुमाइरहेका छन् । किसानको समस्या ज्यूँका त्यूँ छ । गरिबहरू भोकले छटपटाइरहेका छन् । मजदुरको रुवाबासी उस्तै छ । पढेलेखेका युवा मोबाइलका स्क्रिनमा व्यस्त छन् । महँगीले नेटो काटेको छ । सरकारका विरोधीलाई आतंककारी वा विदेशी एजेन्टको उपमा दिइन्छ । या तिनीहरू देश टुक्र्याउन चाहने देशद्रोही कहलिन्छन् । औंलामा गनिने पत्रकारहरू मात्र देशका बारेमा बोल्छन्, लेख्छन्, जनतालाई सुसूचित गराउँछन् । बाँकी सबै मोदीको भजन गाउँछन् । देशको बालमतलब ! वृद्धवृद्धाहरूलाई मोदीले एटीएमको लाइनमा खडा गरिदिएका छन् । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको कथा मोदी शासनकालमा यस्तो छ । दाह्री–जुँगा पालेर जोगीको भेष बनाएका मोदी ढोंग रच्नमा मस्त छन् । यही हो भारतको लोकतन्त्र ।

पहिले पहिले बुढाबुढीहरूले जोगी, संन्यासी, जटी र मुन्डी आए भने घरमा बास नदिनु मन्दिरमा लगेर राख्नु भन्दथे । त्यसको अर्थ बुझ्न निकै समय लाग्यो । अहिले आएर लाग्छ बुढाबुढीहरू ठिकै भन्दथे । जीवनलाई राम्ररी भोगेका उनीहरूले सिकाएको कुरा किन मिथ्या हुन्थ्यो र ? जोगीको भेषमा पाखण्डीहरू पनि आउन सक्ने भएकाले त्यसो भनिएको रहेछ । आज भारतको हालत त्यस्तै छ । बहुसंख्यक हिन्दुहरूले एउटा हिन्दुवादी आस्थाको कारण मोदीको सपोर्ट गरिरहे पनि जनताको समस्या ज्यूँका त्यूँ रहँदा तिनीहरू पनि खुसी छैनन् । तिनीहरू बिस्तारै हिन्दुत्वको अतिवादबाट पर रहेर जब सच्चा नागरिक बनेर हेर्नेछन् तब तिनलाई मोदीको जुँगामा लुकेको पाखण्डको भेउ मिल्नेछ । यी जटे संन्यासीले भारतको अर्थतन्त्रलाई तहसनहस बनाइसकेका छन् । हिन्दुवादको नारा दिएर यी लटे महाराजले नागरिकलाई हिन्दु रैती बनाएका छन् ।

मोदीलाई भारतका मोदीभक्त मिडियाले भारतको भाग्यविधाता भनेर जुन भ्रम छरिरहेका छन् वस्तुतः त्यो सत्य होइन । भारतको आज छिमेकीहरूसँग तितो सम्बन्ध हुनुमा मोदी सरकारको गलत परराष्ट्र नीतिले काम गरिरहेको छ । उसले २०३० मा विश्वगुरु बन्ने जुन गलत भ्रम छरेको छ त्यो सुन्दा जोसुकै विदेशनीतिका जानकारलाई हाँसो लाग्नु स्वभाविक हो । सायद् मोदी सरकारबाट बिदा भएपछि आफ्नो पाखण्ड र झुट लुकाउन तपस्याको ढोंग रचेर जंगल जालान् । बीजेपीलाई मोदीको यस्तो हर्कतले चुनावमा फाइदा नै मिल्ला । तर, जनताको भ्रम भने यथावत् नै रहनेछ । मलाई के डर लाग्छ भने यी जटे ढोंगीलाई भारतीय जनताले ढुंगा हान्ने दिन पो आउँछ कि ! त्यसो कदापि नहोस् । यो हुन पनि हुँदैन ।

चीनलाई मोदीले साइजमा राखेका छन् भन्ने जुन भ्रम भारतीय जनता पार्टीले जनमानसमा छरेको छ त्यो पनि सत्य होइन । भारत र चीनको भारतीय कांग्रेसको शासनकालमा दुईपटक युद्ध नै भएको थियो । राष्ट्रवादको खोक्रो नारा लगाएर मोदी शासनको हर्ताकर्ता मात्र भएका छन् । उनको अन्तर्राष्ट्रिय राजनीतिमा खासै सुझबुझ देखिँदैन । उनले लिएको अन्तर्राष्ट्रिय नीतिले त समग्र दक्षिण एसियाकै भविष्यमाथि प्रश्न उठाइरहेको छ । यसको विश्लेषण भारतीय राजनीतिक विश्लेषकहरूले नबुझेका होइनन् । सत्य बोल्नेबित्तिकै मिडियाले अपराधी घोषणा गरी आफ्नो घरमा ढुंगामुढा बर्साउने डरले विद्वत्वर्ग हायलकायल मात्र भएका हुन् । मोदी सरकारका विरुद्ध विद्वत्वर्ग खनिन नसकेको कारण पनि यही हो ।

अर्कोतर्फ मोदीको जुन अतिवादी राष्ट्रवाद छ त्यसलाई चिर्न धेरै समय लाग्नेछ । मोदीका विरुद्धमा खनिनेबित्तिकै हिन्दु–मुस्लिम दंगा होला भन्ने अर्को भय पनि छँदै छ । त्यसले गर्न सक्ने नरसंहारलाई राम्ररी देखेका विद्वत्वर्ग बोल्न सक्ने अवस्थामा छैन । यसले भारतको राजनीतिमा एक किसिमको छटपटाहट देखिएको प्रस्टै छ । बुद्धिजीवीहरू कसैगरी छिटो चुनाव होस् र मोदी सरकार फालियोस् भन्ने मनसायमा छन् । तर, चुनाव हुन त अझै दुई वर्ष बाँकी छ । भारतको राजनीतिमा यस किसिमको छटपटाहट कहिल्यै देखिएको थिएन ।

प्रतिक्रिया