यस वर्षको प्रि-मनसुनमा पनि पर्याप्त पानी नपर्ने

नेपालखोज २०७७ चैत १३ गते ९:२७

काठमाडौं । यस वर्षको प्रि–मनसुनमा पनि पर्याप्त पानी नपर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिउँदमा पनि पर्याप्त पानी नपर्दा सुख्खा बढेको छ । पर्याप्त पानी नपर्दा हिउँदे बालीमा समेत नोक्सानी भएको थियो ।

अघिल्ला वर्षहरुमा जस्तो यो वर्षको प्रि–मनसुनमा पर्याप्त मात्रामा पानी पर्ने सम्भावना न्यून रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन । अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहे पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले फाट्टफुट्ट बाहेक ठूलो पानी पर्न सकेको छैन ।

हरेक दिन दिउँसोपछि चट्याङ्गसहित हल्का पानी परे पनि जमिन भिज्ने गरी पानी नपरेको मौसमविद् मानन्धरले बताइन । यसले गर्दा सुख्खापन बढेको छ भने वातावरण प्रदूषण पनि बढ्दै गएको छ ।

मनसुन नलाग्दासम्म मौसम समान्यतया अहिलेको जस्तै नै रहने मौसमविद्को अनुमान छ । प्रि–मनसुनमा समेत पर्याप्त पानी पर्ने सम्भावना नरहेकाले कृषि बालीमा नोक्सानी पुग्ने सम्भावना छ । अहिले पहाडी क्षेत्रमा मकै छर्ने बेला भएको छ । तर, पानी नपर्दा किसानमा अन्योल बढेको छ ।

प्रतिक्रिया