पाँच वर्षभित्र ६ सय ७७ आँखा उपचार उपचार केन्द्र स्थापना गरिने

काठमाडौं । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । संघले नेपाल सरकारसँगको साझेदारीमा आँखा उपचार केन्द्रको स्थापना गर्ने भएको हो ।
नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकिकृत गर्ने उद्देश्यले उपचार केन्द्र स्थापना गर्ने बताए । यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने उनले जानकारी दिए ।
मोतिबिन्दुसँगै दृष्टिदोष, बाल दृष्टिविहिनता, जलविन्दू, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्युनदृष्टि, पूर्नस्थापकीय सेवा सम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिनेछ । यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाईल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरीने चन्दले जानकारी दिए ।
नेत्रज्योति संघले यस वर्ष अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी भन्ने नाराका साथमा नेत्रज्योति दिवस मनाएको छ । संघको अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजङ्ग शाह, अर्विस इन्टरनेशनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।
नेपाल नेत्रज्योति संघको स्थापना वि.सं. २०३५ साल चैत्र १३ गते भएको थियो । संघले हालसम्म २१ वटा आँखा अस्पताल, १ सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पुर्याउँदै आएको छ ।
प्रतिक्रिया