एमालेले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने प्रधानमन्त्री ओलीको अडान

नेपालखोज २०७७ चैत १३ गते १९:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले)को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गतेपछि भएका पार्टीका निर्णयहरु फिर्ता नहुने बताए ।

चैत्र ५ गते र चैत्र ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उनको भनाई छ । उनले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि नेकपा (एमाले)संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

प्रधानमन्त्री ओलीले नेकपा(एमाले)मा कुनै गुट र समूह नरहेकोले समूहगत रुपमा कसैसँग डिलिङ नगर्ने बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए । उनले भने, ‘२८ गते भएका निर्णयहरु र त्यसपछि भएका संसदीय दलका बैठकहरु चैत्र ५ गते र चैत्र ७ गते भएको संसदीय दलको बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिदैनँ । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभयो तर पार्टी विधिसम्मत् तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिदैन भनेर भन्नुभयो । दोस्रो कुरा, हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदनसम्म गरिसकेको अवस्थामा अब यो विधान हाम्रो पार्टीको संसदीय दलको विधान हो । आवश्यक प¥यो भने समयक्रममा कालान्तरमा त्यसलाई संशोधन गर्न सकिन्छ । अपरिवर्तनिय र असंशोधनीय छैन तर अहिले नै यो विधानमा तलमाथि गर्न सकिदैन भन्ने कुरा पनि उहाँले प्रष्ट गरिसक्नुभएको छ । प्रधानमन्त्रीले हाम्रो पार्टीमा समुहगत वा गुटगत तरिकाले अब हामी कसैसँग डिलिङ गर्दैनौँ । नेकपा (एमाले)मा कुनै समुह वा गुटको अस्तित्व छैन । छ भने एउटै पार्टी छ । त्यो मात्रै हामी स्वीकार गर्छौ । व्यक्तिगत रुपमा प्रत्येकका आलोचनाहरु, प्रत्येकका गुनासाहरु, हरेक व्यक्तिका पार्टीप्रतिका आफ्ना भनाईहरु हामी हमेशा सुन्न तयार छौँ । तपाईहरु मुख्य सचेतकलाई भन्नुस् । दलको उपनेतालाई भन्नुस् । दलको नेतालाई भेटेसम्म भन्नुस् तर गुटगत हिसाबले र समुहगत हिसाबले कुनै पनि प्रकारको छलफल र कुराकानी नगरीने कुराको पनि उहाँले यो बैठकमा जानकारी गराउनुभएको छ ।’

बैठकले आगामी दिनमा संसदीय दलको बैठक नियमित बस्ने र सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिने निर्णय गरेको पनि प्रमुख सचेतक भट्टराईले बताए । उनले भने, ‘आजको बैठकले अर्को महत्वपूर्ण निर्णय के गरेको छ भन्दाखेरी अब हाम्रो संसदीय दलको बैठक नियमित बस्छ । सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन्छौँ । सांसदहरुले संसदलाई प्रभावकारी बनाउनका लागि जनताका समस्याहरु संसदमा मुखरित गर्नका लागि र आफ्ना निर्वाचन क्षेत्र, आफ्ना जिल्लाका आवाजलाई संसदमा व्यवस्थित तरिकाले राख्नका लागि हामी तपाईहरुलाई सहजीकरण गर्छौ भनेर पनि प्रधानमन्त्रीज्यूले आजको बैठकमा भन्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेका नेताद्धय माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टिकरण नकारात्मक भएकाले कारबाहीको भागिदार रहेको बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए । ‘पार्टीमा विधान विपरित काम गर्ने र सडकमा बसेर पार्टी अध्यक्षलाई हटाउने । दलको नेता हटाउनेसम्मको काम तपाईहरुले गर्नुभो हामीले त कम्तिमा त्यति त गरेनौँ नि त भन्दै प्रधानमन्त्रीले के भन्नुभयो भने दुई जनाको स्पष्टिकरण आएको छ । त्यो स्पष्टिकरण अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागिदार छ । प्रधानमन्त्रीले भनेको शब्द त्यही नै हो । अरु बाँकी दुई जनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट र त्यो स्पष्टिकरणबाट चाहीँ पार्टीलाई एकढिक्का राख्न मद्दत पुगोस् । त्यस्ता आसयका साथ स्पष्टिकरण आउने अपेक्षा गर्दछु भनेर पनि प्रधानमन्त्रीले भन्नुभएकोछ त्यसकारण दुईवटा आएका स्पष्टिकरणहरु चाहीँ कारबाहीका भागिदार हुन्छन् भनेर उहाँले भन्नुभएको छ । कारबाही कुन प्रकृतिको हुन्छ भन्नेकुरा चाहिँ केन्द्रीय कमिटीको आधिकारीक बैठकले निर्णय गर्छ ।’

नेकपा (एमाले) का नेता योगेश भट्टराईले पार्टी कमिटीहरु २०७५ साल जेठ २ गते अघिको पूर्ववत्ः अवस्थामा फर्काउनु पर्ने र त्यसका निम्ति प्रधानमन्त्री ओलीले पहलकदमी लिनुपर्ने धारणा राखेको बताए । उनले भने, ‘फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले हामीलाई पूर्ववत् पार्टीमा फर्काएको अवस्थामा पार्टीको संसदीय दल जसरी पूर्ववत् अवस्थामा अगाडि बढ्यो त्यसै गरीकन पार्टी केन्द्रीय कमिटी र पार्टी मातहतका सम्पूर्ण कमिटीहरु पनि २०७५ जेठ २ गतेको अवस्थामा फर्कौं र त्यहाँबाट नयाँ ढंगले पार्टीलाई एकतावद्ध बनाएर लैजाऔं यसमा मुलुकको प्रधानमन्त्री हुनुको नाताले र यो पार्टीको अध्यक्ष हुनुको नाताले तपाईले पहलकदमी लिनुहोस् । हिजोका कतिपय तितामिठा कुराहरुलाई विर्सौं । उत्तेजित भएर होइन संयम र धैर्यताका साथ अगाडि बढ्नु पर्छ । किनभने परिस्थिति निकै खतरा छ र निकै चुनौतिपूर्ण छ । यो मुलुकले नेकपा एमालेको एकता खोजेको छ सिंगो बामपन्थीहरुको एकता खोजेको छ, सरकारको स्थायित्व खोजेको छ र जनमतको कदर गर्ने कुरा पनि खोजेको छ ।

बैठकमा नेकपा (एमाले) का नेता तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटका लागि सांसदहरुसँग फिडब्याक मागेको र आफ्नो क्षेको विकासलागि महत्वपूर्ण रहेको योजनाहरु विधिसम्मत् रुपले मन्त्रालयमा दिन आग्रह गरेका थिए । नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विस्टले पनि आ–आफ्नो धारणा राख्नुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया