सम्झनामा नविन्द्रराज जोशी

नेपालखोज २०७७ चैत १३ गते २१:१५

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थिए’ उनले भने ‘ तर असम्भव भयो ।’ फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । काठमाडौँ क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद नवीन्द्रराज जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर समेत हुन् ।

२०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी समेत सम्हालेका थिए । त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गरेका सभासद जोशीका राजनीतिक लेख रचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष पनि हुन् । जोशीका एक छोरी छन् ।

प्रतिक्रिया