गुणस्तरीय डाक्टर पढाउन कलेज सञ्चालन गर्न सम्बन्धन पाऔंभन्दा मैले कुनै अपराध त गरिन होला नि ? दुर्गा प्रसाईं

काठमाडाैं । “स्वदेशमा नै डाक्टर पढ्न पाउनुको छुट्टै आनन्द हुन्छ । समयसमयमा घर परिवारसँग भेटघाट हुन्छ । फेल हुुने सम्भावना हुन्न । विदेशमा डाक्टर पढ्न गएका कतिपय विद्यार्थी ‘होमसिक’ भएर घर फर्किने गर्दछन् । यसैले ‘एक प्रदेश, एक मेडिकल कलेज’ स्थापना हुनुपर्छ । मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अस्पताल जस्ता मापदण्ड पूरा गरेका कलेजलाई सरकारले सम्बन्धन दिनुपर्छ । यस्ता कलेजले सम्बन्धन पाउनुपर्छ पनि ।”
त्रिभूवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा एमबिबिएस तहको अन्तिम वर्षको अध्ययन पूरा गर्न लागेका विनय पगेनीले भने । विद्यार्थी नेतासमेत रहेका उनले थपे, “मेडिकल शिक्षामा नीजि लगानी आउने वित्तिकै मेडिकल शिक्षा बिग्रिने होइन । राज्यले अनुगमन गर्नुपर्छ । अब सम्बन्धनको विषय सडकबाट होइन, नीतिबाट हुनुपर्छ । मनशायपत्र लिई मेडिकल कलेज सञ्चलानार्थ आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरिसकेका काठमाडौँ बाहिरका कलेजलाई सम्बन्धन दिन अब ढिलाइ गरिनुहुन्न ।”
यहाँ आयोजित ‘चिकित्सा शिक्षासम्बन्धी संवाद कार्यक्रम’मा सहभागी सो क्याम्पसमा एबिबिएस तहमा अध्ययनरत छात्रले भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन सरकारसँग माग गरे । उनीहरुले जनसङ्ख्या र बिरामी अनुपातमा चिकित्सक उत्पादनका लागि मेडिकल कलेजको अझै आवश्यकता भएकामा जोड दिँदै सम्बन्धन दिँदा गुणस्तर र शुल्कको स्पष्ट व्यवस्था गर्न सुझावसमेत दिए ।
सरकारले तय गरेका शुल्कमा डाक्टर पढाउँछु, भन्ने कलेजलाई सम्बन्धन दिन सरकारलाई किन आपत्ति प¥यो रु सोही क्याम्पसमा अध्ययनरत छात्र विशाल सिग्देलले प्रश्न गर्दै भने, “एकातर्फ स्वदेशका मेडिकल कलेजले सम्बन्धन नपाउने, अर्कोतर्फ डाक्टर पढ्न विदेश जानुपर्ने । पैसा हुने र नहुने दुवैका लागि डाक्टर पढ्न खुला हुनुपर्छ । “मेडिकल एजुकेशन ओपन’ हुनेबित्तिकै बिग्रिने होइन ।”
सोही क्याम्पसका अर्का छात्र ईश्वर थपलियाले अभिभावकले आफ्ना सम्पत्ति बैंकमा राखेर छोराछोरीलाई विदेशमा डाक्टर पढाउन पठाउन बाध्य भइरहेको अवस्थालाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनले थपे, “मेडिकल शिक्षाका लागि नेपाल केन्द्र बन्न सक्छ । यसैले मापदण्ड पूरा गरेका कलेजलाई सम्बन्धन दिइ हरेक प्रदेशमा मेडिकल कलेज खोल्नुपर्छ । यससम्बन्धी परम्परागत धारणालाई चिर्नुपर्छ ।” छात्र ऋषिकेश चौधरीले प्रदेश नं १ र २ मा मेडिकल कलेजको आवश्यकता रहेकामा जोड दिँदै शहरी क्षेत्रमा मेडिकल कलेजको सङ्ख्या बढाउन हुँदैन भने । उनले भने, “मेडिकल कलेजले पनि नाफाभन्दा सेवालाई प्राथमिकता दिनुपर्छ । शिक्षा र स्वास्थ्यमा गुणस्तरमा सम्झौता गरिनुहुन्न ।” सोही क्याम्पसका छात्र जीतेन्द्र यादवले करीब ४२ लाख जनसङ्ख्या भएको मेचीका लागि मेडिकल कलेज आवश्यक रहेको बताए । अर्का छात्र अलिहसन अन्सारीले भने, “डाक्टर पढ्न विदेश जानुपर्ने अवस्थालाई रोक्न मापदण्ड पूरा गरेका स्वदेशी मेडिकल कलेजलाई पठनपाठनका लागि खुला गर्नुपर्छ ।”
कार्यक्रममा बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफूले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार कलेजलाई सम्बन्धन दिन माग गरेको स्पष्ट पारे । उनले भने, “सरकारी शुल्कमा गुणस्तरीय डाक्टर पढाउन कलेज सञ्चालन गर्न सम्बन्धन पाऔंभन्दा मैले कुनै अपराध त गरिन होला ?” आफ्नो सम्बन्धनका माग नीति र विधिसम्वत् भएको उनले दाबीसमेत गरे । रासस

प्रतिक्रिया