विश्वकप छनोटमा बेल्जियम र नेदरल्यान्डसको फराकिलो जित

काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । बेल्जियमले बेलारुसलाई ८-० तथा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७-० ले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा समूह ई को खेलमा बेल्जियमले बेलारुसलाई ८-० ले पराजित गर्दा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई-दुई गोल गरे । यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे ।
बेल्जियमले घरेलु मैदानमा दुवै हाफमा चार चार गोल गरेको थियो ।
जितसँगै ३ खेलबाट ७ अंक जोडेको बेल्जियम समूह ई को शीर्ष स्थानमा रहेको छ । २ खेलमा ३ अंक जोडेको बेलारुस चौथो स्थानमा रहेको छ ।
अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १-० ले पराजित गरेको छ । वेल्सको लागि ड्यानिएल जेम्सले ८२औं मिनेटमा निर्णायक गोल गरे । खेलमा दुवै टोलीले १० खेलाडीमा रहेर खेल सकाएका थिए ।
हारपछि ४ अंकसहित चेक दोस्रो स्थानमा छ भने ३ अंक जोडेको वेल्स तेस्रो स्थानमा छ ।
यस्तै मंगलबार राति नै भएको समूह जी को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ७-० ले पराजित गर्दा मेम्फिस डिपाएले दुई गोल गरे । यस्तै स्टेभेन बेर्घुइस, लुक डी जंग, जर्जिनियो विज्नाल्डम, डोनएल मालेन र डोनी भान डे विकले एक एक गोल गरे ।
घरेलु टिमविरुद्ध नेदरल्याण्ड्सले पहिलो हाफमा एक गोलमात्र गरेपछि दोस्रो हाफमा ६ गोल गरेको थियो ।
यस जितपछि ३ खेलबाट ६ अंक जोड्दै नेदरल्यान्ड्स समूह जी को दोस्रो स्थानमा उक्लेको छ । ३ खेल हारेको जिब्राल्टर अंकविहीन हुँदै पुछारमा रहेको छ ।
यस्तै यसअघि लगातार दुई खेल जितेको टर्की भने लात्भियासँग ३-३ को बराबरीमा रोकिएको छ । ३ खेलबाट ७ अंकहित टर्की शीर्ष स्थानमै यथावत छ ।
अर्को खेलमा नर्वेले मोन्टेनेग्रोलाई १-० ले हराएको छ । मोन्ट्रेनग्रो र नर्वेको पनि नेदरल्याण्ड्स समान ६ अंक छ । तर गोलअन्तरमा डच टोली अघि छ भने मोन्ट्रेनेग्रो तेस्रो र नर्वे चौथो स्थानमा छ।
प्रतिक्रिया