सरकार संविधान असफल पार्न लाग्यो : गुरुङ

काठमाडौं । माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको धारणा राखेका हुन् । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले दल विभाजन गरिसकेको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए ।
‘वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको छ । यो सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको छ’, गुरुङले भने, ‘सर्वोच्च अदालतले एउटा फैसला गर्यो । त्यो फैसलाले दल विभाजनको फैसला गरेको छ । दल विभाजन भएको अवस्थामा सरकार के हुने भन्ने अवस्था छ ।’
उनले सरकारले विधिको शासनलाई समेत फलो नगरेको भन्दै पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको उदाहरण पेश गरे । गुरुङले सदनलाई बिजनेस दिनुपर्ने सरकारको दायित्व भएपनि नदिएर संसदलाई पुन विघटन गर्न लागिरहेको त होइन भनेर प्रश्न गरे ।

प्रतिक्रिया